Monday, August 29, 2022

कपास खेती प्रविधि

 कपास खेती प्रविधि

श्रीकृष्ण अधिकारी

वागवानी विकास अधिकृत

नेपालमा कपास खेती पश्चिम तथा सुदुरपश्चिमका तराई क्षेत्रहरुमा हुँदै आएको छ। विश्वकै सबैभन्दा महत्वपुर्ण औद्योगिक बालीका रुपमा कपासलाई लिईन्छ। कपास बहुउपयोगी बाली हो। यसको रुवा (lint) र बियाँ (seed) दुबै महत्वपुर्ण छन्। कपासलाई मुख्यतः दुई समूहमा विभाजन गरिएको छ‑ पुरानो दुनियाँको कपास (देशी कपास) र नयाँ दुनियाको कपास (अमेरिकन कपास)। पुरानो दुनियाँको कपास अर्थात देशी कपासको उत्पति भारतमा भएको मानिन्छ भने नयाँ दुनियाँको कपासको उद्गम थलो दक्षिण अमेरिका र उत्तर अमेरिकाको दक्षिण भेग भएको मानिएकोछ। हिन्दु संस्कारमा कपासको प्रयोग निकै अघि भएको विभिन्न तथ्यहरुले प्रमाणित गर्दछ। भारतमा नै ईस्वीपुर्व १८०० देखि कपासको प्रयोग भएको देखिन्छ। नेपालमा कपास उत्पादन हुने प्रमुख जिल्लाहरु क्रमशः दाङ, बाँके, कञ्चनपुर, बर्दिया, कैलाली र सुर्खेत हुन्।


कपासको वर्गिकरणः

कपास बाली गोसिपियम (Gossypium) वशं अन्तरगत पर्दछ। यस वशंभित्र खेती गरिने र जङ्गली गरी जम्मा बीस वटा प्रजाती पर्दछन्। खेती गर्न सकिनेमा रुवा (lint) कात्‍न सकिने किसिमको हुन्छ भने जङ्गलीको रुवा निकै छोटो हुने हुदाँ कात्‍न मिल्दैन।

महत्वपुर्ण खेतीयोग्य कपासका प्रमुख चार प्रजातिहरुलाई दुई समुहमा विभाजन गर्न सकिन्छः

क)    पुरानो दुनियाँको देशी कपास

१)     आर्बोरियम कपास

व्यापारिक रुपले सर्वप्रथम प्रयोग भएको कपास सम्भवतः यहि नै हो। यसको बोट १.५ देखि २ मि. अग्लो हुन्छ। हाँगा र डाँठ मसिना रौँ युक्त हुन्छन्। यसका फूलहरु अक्सर राता हुन्छन्। यसको रेसा खस्रो र छोटो (१‑२.१ से.मी) तर बलियो हुन्छ। यो प्रजातिको उत्पादन क्षमता कम हुन्छ। नेपालमा खेती गरिने स्थानीय जातहरु यसै प्रजाति अन्तरगत पर्दछन्।

२)     हर्वासियस कपास

यो एशियाको प्रमुख कपास हो। यसको बोट १ देखि १.५ मि. अग्लो हुन्छ। हाँगा र डाँठ मोटो हुन्छन् र पातला रौँ हुन्छन्। यसका फूलहरु पहेँला हुन्छन्। यसको रेसा छोटो (१.५‑२.३ से.मी) तर बलियो हुन्छ। यसको रुवा निम्नस्तरीय कपडा, कार्पेट, कम्बल बनाउन प्रयोग हुन्छ साथै ऊनसँग मिसाउन प्रयोग गरिन्छ।

ख)    नयाँ दुनियाँको अमेरिकन कपास

१)     हिर्सुटम कपास

यो अमेरिकन कपास हो। यसको बोट १.५ मि. अग्लो हुन्छ। डाँठ हरियो वा खैरो हुन्छ। हाँगा र डाँठमा बाक्ला मसिना रौँ (झुस) हुन्छन्। यसका फूलहरु सादा, सेतो वा हल्का पहेँला हुन्छन्।कपासको डल्लो ४‑५ कोठे हुन्छ। बीउको चारैतिर रुवा हुन्छ। यसको रेसा १.५‑३.५ से.मी लामो हुन्छ। यस कपासले सबैभन्दा बढी (५०% भन्दा बढी) क्षेत्रफल ओगटेको छ।

 

२)     बार्बाडेन्स कपास

यसका फूलहरु पहेलो रङ्गमा बैजनी दागयुक्त हुन्छन्। कपासको डल्ला तीन कोठे हुन्छन्। बीजको छेउबाट मात्र रुवा उत्पन्न हुन्छ। यो पनि २ किसिमको छः

·         सी‑आईल्याण्ड कपासः यसको रेसा मिहिन, बलियो, हल्का क्रिम रङ्गको रेशम जस्तै देखिने हुन्छ। यसको कपास रेसा अन्य कपासहरुको भन्दा लामो ( ५ से.मी. वा बढी), बलियो र उच्च कोटीको हुन्छ तर उब्जनी भने न्यून छ।

·         ईजिप्सियन कपासः सी‑आईल्याण्ड कपासको जस्ते रुवा हुने तर केहि छोटो र खैरो रङ्गको हुन्छ। यसको रुवा अत्यन्त बलियो हुन्छ। यसको खेती क्षेत्रफल नगण्य छ।

वानस्पतिक विवरणः

कपासको बिरुवा प्राकृतिक रुपले बहुवर्षिय झाडी हो तर यसलाई खेति गर्दा एक वर्षिय बालीका रुपमा खेती गरिन्छ। यसको खेती गरिने बिरुवा शाकीय (झार वर्गीय) हुन्छ, जसको उचाई ०.६‑२ मि उचाई सम्म हुन्छ। जरा मुसलाकार हुन्छ र मूल जराबाट सहायक जराहरु उत्पन्न हुन्छ। मुख्य डाँठ ठाडो र निकै झाँगिएको हुन्छ। मुख्य डाँठको आँख्लामा अवस्थित मुनाहरु हाँगाका रुपमा विकसित हुन्छन्। कपासको प्रत्येक पातको पर्णवृन्त (petiole) को आधारमा (base) दुईवटा मुना हुन्छन्। एउटा मुनाबाट वानस्पतिक हाँगा उत्पन्न हुन्छ भने अर्को मुनाबाट फलदार हाँगा उत्पन्न हुन्छ। कहिलेकाहि फलदार हाँगा उत्पन्न हुने मुनाबाट पनि वानस्तपतिक हाँगा निस्कन सक्छ। वानस्पतिक हाँगा र मुख्य डाँठमा पात सर्पिल (spiral) आकारले उत्पन्न हुन्छ भने फलदार हाँगामा पात एकान्तर (alternate) पक्तींमा उत्पन्न हुन्छन्।फूलहरु फलदार हाँगामा मात्र लाग्दछ। फूलको रङ्ग, फलको आकार तथा कोठा संख्या कपासको जातमा भर पर्दछ। कपासको बिरुवामा रोपेको ३०‑६० दिनमा हाँगिने पक्रिया र करिव सय दिनमा पुष्पावस्था प्राप्त हुन्छ। बीउको बोक्रामा बाह्य चर्मीय कोष (epidermal) लम्चिएर कपासको रेसा बन्छ। लामो रेसालाई रुवा (staple or lint) र सानो छोटो रेसालाई रुवो (fuzz) भनिन्छ।

हावापानीः

न्यानो जलवायु खेतिका लागि उपयुक्त हुन्छ। यसको खेती उष्ण र उपोष्ण क्षेत्रमा ग्रीष्म‑वर्षाकालिन बालीका रुपमा खेती गर्न सकिन्छ। कपास खेतीका लागि उपयुक्त तापक्रम १६‑३२ से. हो। १६ से. भन्दा कम तापक्रममा बीउ अंकुरण राम्रो हुन्छ। बालीले ४३ से. सम्म उच्च तापक्रम सहन सक्छ तर २१ से. भन्दा कम तापक्रममा वानस्पतिक बृद्दि हुन सक्दैन। फलन अवस्थामा यसलाई २७‑३२ से तापक्रम र ठन्डा रातहरु चाहिन्छ। फलन अवस्थामा रात र दिनको तापक्रम धेरै अन्तर भएमा डल्ला र रुवाको विकासका लागि बढी अनुकुल वातावरण हुन्छ।

यस बालीका लागि एकैनासको वितरित वर्षा राम्रो मानिन्छ। वार्षिक ५०‑७५ से.मी. वर्षा उपयुक्त हुन्छ।यस बालीलाई रोपण देखि पुष्पावस्था सम्म माटोमा चिस्यान कायम गरिदिनुपर्दछ। डल्ला विकास हुने अवधिमा भारी वर्षा भएमा वा भारी सिँचाई दिएमा फूल र अल्पायू डल्लाहरु झर्ने हुनसक्छ। कपासको डल्लाहरु परिपक्क हुने र कपास टिप्ने समयमा प्रशस्त घमाईला दिनहरु भएमा उच्च गुणस्तरको कपास प्राप्त हुन्छ।

कपासको बिरुवाले तुसारो सहन सक्दैन। करिब १००० मि. उचाई भन्दा माथी कपास खेती गरिदैन। वार्षिक ९० से.मी. भन्दा बढी वर्षा हुने क्षेत्र कपास खेतीका लागि उपयुक्त हुँदैन। कपास खेती सिञ्चित वा असिञ्चित दुवै अवस्थामा गर्न सकिन्छ।

माटोः

कपास खेतीका लागि दोमट वा बलौटे दोमट माटो उपयुक्त हुन्छ। पाँगो माटो मिसिएको दोमट माटो पनि उपयुक्त हुन्छ। मकै खेती हुने प्रायः माटोमा कपास खेती हुन्छ। माटोले चिस्यान थाम्न सक्ने तर धरे जलभरण नहुने माटो उपयुक्त हुन्छ। पानी जम्ने माटो तथा ज्यादै भिरालो जमिन कपास खेतीका लागि राम्रो मानिदैन। माटोको अम्लियपन ५.५‑८.५ हुनु उपयुक्त हुन्छ।

उपयुक्त जातहरुः

१.     ट्यामकट एस पी‑३७

२.     एफ‑१०५४

बालीचक्र र मिश्रित खेतीः

कपास वर्षे बाली हो। यसको रोपण बैशाख देखि जेठमा गरिन्छ र मङ्सीरमा टिपाई गरिन्छ। कपासबाली भित्र्याएपछि त्यस खेतवारीमा हिउँदे बालीहरु जस्तैः गहुँ, चना, केराउ, आलस, आलु, प्याज आदि लगाउन सकिन्छ। कपास टिप्न ढिला भएमा कपासपछि सूर्यमुखी वा बदाम रोप्न सकिन्छ।

कपासबालीसँग तिल, कोदो, खुर्सानी, बदाम, आदि लगाउन सकिन्छ तर भिन्डी लगाउन हुँदैन। भिण्डीले रोग कीरा निम्त्याउन सक्छ।

जमिनको तयारी

कपासको जरा ९०‑१२० से.मी. सम्म फैलने हुदाँ गहिरो जोताईको आवश्यकता पर्दछ। गोठेमल वा कम्पोष्टमल कपास रोप्नुभन्दा २‑३ साता अगावै खेतवारीमा एकनासले फिँजाएर माटोमा मिलाउनुपर्दछ।

बीउ र रोपण

१)     रोप्ने समय

सिञ्चित क्षेत्रमा कपास रोप्ने उपयुक्त समय बैशाख मध्यदेखि जेठ मध्य हो। चाँडै परिपक्क हुने जातहरुभन्दा ढिला परिपक्क हुने जातहरु चाँडै रोप्नुपर्दछ। समय भन्दा अगाडी रोपेमा वानस्पतिक वृद्दिमात्र भई उत्पादनमा कमी हुन्छ। असिञ्चित क्षेत्रमा मनसुनपुर्व एक दुई पटक पानी परेपछी अर्थात मकै रोप्ने बेलामा कपास रोप्न सकिन्छ। ढिला रोपण गरेमा बिरुवाको पर्याप्त वानस्पतिक वृद्दि हुदैँन र हिँउदमा कम तापक्रमका कारणले डल्लाहरु राम्ररी फुट्न नसक्ने हुँदा उब्जनी घट्छ।

२)     बीउ उपचार

बीउलाई रेसारहित बनाउन आवश्यक हुन्छ। त्यसका लागि बीउलाई रातभर पानीमा भिजाउनुपर्छ। त्यसपछि रुवायुक्त सो बीउलाई गोवर, खरानी वा माटो वा बालुवा र पानीमा मिसाई तयार गरेको लेदोमा मुछि दुवै हातले रगड्नुपर्दछ र छायादार ठाँउमा सुकाउनुपर्दछ।

बीउलाई रेसारहित बनाउन मेसिनको प्रयोग तथा एसीडको प्रयोग गर्न सकिन्छ।

३)     बीउदर र रोपणविधि

उन्नत जातका अमेरिकन कपासको बीउ २०‑२५ की. ग्रा. प्रति हेक्टर र स्थानीय जातका कपासको १५‑२० कि.ग्रा. बीउ प्रति हेक्टरका दरले रोप्नुपर्दछ। हाईब्रिड जातका बीउ २ कि.ग्रा. प्रति हेक्टरका दरले लाग्दछ। पक्तीं देखि पक्तीं र बोट देखि बोटको दुरी अमेरिकन कपासका लागि ६० से.मी.x४५ से.मी. , स्थानीय कपास रोप्दा लागि ६० से.मी. x ३० से.मी. र हाईब्रिड कपास रोप्दा लागि १५० से.मी. x ६० से.मी. कार्यम गर्नुपर्दछ। कपासको बीउलाई पक्तींमा रोप्नुपर्दछ। करिब ४‑५ से.मी. गहिराईमा बीउ रोप्नु पर्दछ। कपासका पक्तींहरु पूर्व‑पश्चिम दिशामा बनाउनुपर्दछ।

खाली ठाँउ भर्ने र बेढाउने

रोपेको हप्ता दश दिनमा कपासको बीउ उम्रन्छ। तर सबै रोपेको बीउ नउम्रन सक्छ। तसर्थ दश बाह्र दिनमा खेत निरिक्षण गर्ने र नउम्रेको ठाँउमा १२ घण्टा भिजाएर राखेको बीउ रोप्ने कार्य गरी खाली ठाँउ भर्नुपर्दछ। त्यस्तै कहिले काँही बीउ रोप्दा सिफारिस गरिएको दुरी भन्दा नजिक वा चाहिए भन्दा बाक्लो गरि उम्रने हुन सक्छ, त्यस्तो अवस्थामा बीउ रोपेको १२‑१५ दिन भित्रमा कमजोर, रोगी वा राम्ररी नउम्रेका बिरुवाहरु छाँटिदिनु पर्दछ।

मलखाद

बालीचक्रमा कोशेबाली प्रयोग गरेमा रासायनिक मलखादको आवश्यकतामा कटौती हुन्छ। सामान्यतया कपास रोप्नु भन्दा एक महिना अगाडी राम्ररी कुहिएको गोठेमल वा प्राङ्गारीक मल खेत बारीमा राम्ररी जोतेर माटोमा मिलाउँदा राम्रो हुन्छ। एक हेक्टरका लागि १५ देखि २५ टन गोवर वा कम्पोष्ट मलको आवश्यक पर्दछ। नेपालका लागि सिफारिस भएको ट्याम्कट एसपी‑३७ र एफ‑१०५४ का लागि ६० कि.ग्रा. नाईट्रोजन, ४० कि.ग्रा. फस्फोरस र २० कि.ग्रा. पोटास प्रति हेक्टर रासायनिक मल आवश्यक हुन्छ।स्थानीय जातका कपासका लागि ५०:२५:१५ कि.ग्रा. नाईट्रोजनः फोस्फोरसः पोटास प्रति हेक्टर आवश्यक हुन्छ। आधा नाईट्रोजन, पुरा फस्फोरस र पूरा पोटास बाली रोप्ने समयमा हाल्ने र बाँकी नाईट्रोजन फूल लाग्ने समयमा टपड्रेसिङ गरी प्रयोग गर्नुपर्दछ।

सिँचाई

कपासको जराप्रणाली गहिराईसम्म पुगेको हुन्छ। कपासको बोट अत्याधिक चिस्यान र वायुसञ्चारको कमि प्रति धेरै संवेदनशील हुन्छ।फूल लाग्ने अवस्था र डल्ला लाग्ने अवस्थामा कपासमा चिस्यानको अत्यन्त आवश्यक पर्दछ। यस अवस्थामा माटोमा चिस्यान कायम हुन नसके डल्ला झर्ने तथा रुवा राम्रो नहुने हुन्छ। सिञ्चित क्षेत्रमा कपास रोप्नका लागि दुईवटा पूर्वरोपण सिँचाई दिएर जमिनको तयारी गरिन्छ। बीउ रोपेको ३०‑४० दिनपछि पहिलो सिँचाई गरिन्छ। त्यसपछि १५‑२० दिनको अन्तरालमा २‑३ पटक हल्का सिँचाई दिईन्छ। सिँचाईको मात्रा माटोको चिस्यान र वर्षामा पनि भर पर्दछ।

झार नियन्त्रण

कपासबालीमा बीउ रोपके ५०‑६० दिन सम्म झार पुर्ण रुपमा नियन्त्रण भएको हुनुपर्नेछ।झारनासक विषादि प्रयोग गर्नु परेमा कपास रोप्नुपूर्व जमिनको अन्तिम तयारी बेला फ्लुक्लोरालिन (बासालिन) १ कि.ग्रा. प्रति हेक्टरका दरले ८००‑१००० लि. पानीमा मिसाई छर्केर तुरुन्तै करिव ५ से.मी. गहिराई माटो सम्म हुने गरी माटोमा मिलाउनुपर्दछ।

काटँछाँटः

कपासलाई काँटछाँट गर्न सकिएमा उत्पादन अझै बढाउन सकिन्छ। समयमा उपयुक्त काँटछाँट गरेमा वानस्पतिक वृद्दिमा खपत हुने खाद्यतत्वको वितरण फलदार हाँगामा हुन्छ, जसले फूल धेरै लाग्ने र उत्पादनमा बृद्दि हुने सम्भावाना बढाउँछ। काँटछाँटका लागि निम्न कृयाकलापहरु अवलम्वन गर्न सकिन्छः

क.    वानस्पतिक हाँगाहरु हटाउनेः

कपासको फूल वानस्पतिक हाँगामा लाग्दैन। वानस्पतिक हाँगा छिटो छिटो वृद्दि हुन्छ, जसले गर्दा बोटमा वितरित खाद्यतत्व धेरै वानस्पतिक वृद्दिमा खर्च हुन्छ। यसले गर्दा फलदार हाँगा र वानस्पतिक हाँगा बीच खाद्यतत्व खपतका लागि प्रतिस्पर्धा हुन्छ। फूल धेरै लाग्नका लागि फलदार हाँगाको राम्रो बिकास र बृद्दि हुनु आवश्यक हुन्छ। तसर्थ, अनावश्यक वानस्पतिक हाँगाहरु समयमा नै हटाउनु पर्दछ। वानस्तपतिक हाँगाहरु फलदार हाँगामा पहिलो फूल खेल्न सुरु गरेपछि हटाउन सकिन्छ।  

ख.    बोटको टुप्पो काट्ने

बोटको टुप्पो काटिदिदाँ वा चुडिदिँदा वानस्पतिक वृद्दि दर कम हुने, सहायक हाँगाहरु पलाउने साथै खाद्य तत्वको उचित बाँडफाँट हुने हुदाँ बोटको टुप्पो चुड्ने अभ्यास राम्रो मानिन्छ। बोटको टुप्पो चुड्ने कार्य भने बोटमा करिब १०‑१२ फल हाँगाहरु देखिने बेलामा गर्दा राम्रो हुन्छ। त्यो समय भनेको करिब असारको अन्तिम हप्ता तिर हुनसक्छ। बोटको टुप्पो चुड्ने कार्य सफा एवं घमाईलो दिनमा गर्दा बोटमा बन्ने घाउ राम्रो गरी निको हुन मद्दत गर्दछ।

ग)     पुराना पातहरु तथा रित्ता फलदार हाँगाहरु हटाउने

बोटको बृद्दि हुने क्रममा मध्य समय तिर पुराना पातहरु, पहेँला एवं रोगयुक्त पात र हाँगाहरु तथा रित्ता फलदार हाँगाहरु बेला बेलामा निरिक्षण गर्दै हटाउनु पर्दछ। यसले गर्दा बोटमा प्रकाशको राम्रो सन्तुलन तथा रोगकीराबाट सुरक्षा र खाद्य तत्वको उचित वितरणमा सहयोग गर्दछ।

घ)     वानस्पतिक तथा फलदार हाँगाका टुप्पा हटाउने

बोटको राम्रो बृद्दि र आकारका लागि वानस्पतिक तथा फलदार हाँगाको टुप्पा हटाउन सकिन्छ। यसले जराको बृद्दिमा सहयोग पुर्‍याउनका साथै अपरिपक्क अवस्थामै बोट ओईलाउने तथा मर्ने समस्याबाट बचाउँछ। वानस्पतिक हाँगाको टुप्पो चाँहि फूल खेलेको बेला (असारको अन्तिम हप्ता) मा र फलदार हाँगाको टुप्पा चाँहि फल लागिसकेपछिको बेला (श्रावणको दोश्रो हप्ता) मा गर्न सकिन्छ।

ङ)     छिटो फूल लागेका हाँगाहरु हटाउने

राम्रो वानस्पतिक विकासका लागि समय भन्दा अगाडी फूल खेलेका हाँगाहरु हटाउनु पर्ने हुन्छ। यसका लागि छिटो फूल खेलेका बोटको तल्लो २‑३ वटा हाँगाहरु असारको पहिलो हप्ता तिर हटाउनुपर्दछ। यसरी यस किसिमका हाँगाहरु हटाउँदा भर्टिसिलियम विल्ट (‌ओईलाउने रोग) कम लाग्ने तथा बोट स्वस्थ र बलियो हुने अध्ययनले पुष्टि गरेको छ।

रोग तथा कीराहरु

कपास बालीमा लाग्ने मुख्य मुख्य रोगहरु निम्नानुसार रहेका छन्

क)    जरा कुहिने रोग

ख)    फ्युजारियम ओईलाउने रोग

ग)     भर्टिसिलिएम ओईलाउने रोग

घ)     कालो ब्रण रोग (एन्थ्राक्नोज)

ङ)     पातथोप्ले रोग

च)     जीवाणु डढुवा रोग

कपास बालीमा लाग्ने मुख्य मुख्य कीराहरु निम्नानुसार रहेका छन्

क)    कपास‑डल्लाको गुलाबी कीरा

ख)    कपास‑डल्लामा लाग्ने छिर्के कीराहरु

ग)     थ्रिप्स

रोग तथा कीराका समस्या देखा परेमा कृषि प्राविधिकको सल्लाह लिई रोकथामका लागि प्रयास गर्नुपर्दछ।

कपास टिपाई

कपासका फूलहरु एकै समय नफक्रने हुदाँ फल एकै चोटि टिप्न सकिदैँन। टिप्नका लागि परिपक्क भएका डल्लाहरु छान्दै ३ देखि ४ पटकमा कपासको टिपाई गर्नुपर्दछ। कपासको डल्ला पूर्ण रुपले फुटेर कपास तलतिर झुन्डिन थालेपछि कपास टिप्न तयार भएको बोध हुन्छ। डल्ला फुटेपछि कपासलाई धेरै दिनसम्म खेतमा छाड्दा मौसम आदिको कारणले कपास बिग्रन सक्छ। यस कारण खेतबारीमा ४०‑५० प्रतिशत फलहरु फुटेपछि पहिलो टिपाई थाल्नुपर्दछ। अमेरिकन कपासमा १०‑१५ दिनका अन्तरालमा र देशी कपासमा ५‑८ दिनको अन्तरालमा टिपाईहरु गर्नुपर्दछ। सामान्यतया उन्नत जातका अमेरिकन कपास कात्तिकको सुरुमा पहिलो टिपाईका लागि तयार हुन्छन्, दोश्रो टिपाई कात्तिक तेश्रो हप्तामा , तेश्रो टिपाई मङ्सिरको पहिलो हप्तामा र चौथो/अन्तिम टिपाई मङ्सिरको तेश्रो हप्तामा गरिन्छ। कपास टिप्ने कार्य विहान वा बेलुका गर्न हुँदैन। शीत परेको र आर्द्र मौसम भएको समय कपास टिप्न हुँदैन। सफा र शुष्क कपास टिप्नु पर्दछ। कपास टिप्ने कार्य मेशिनको सहायताले पनि गर्न सकिन्छ।

उब्जनी

सिञ्चित क्षेत्रमा राम्ररी व्यवस्थापन गरिएको अमेरिकन कपास बालीले १५‑२० क्वि. प्रति हेक्टर कपास उब्जनी दिन्छ। स्थानीय जातको कपास बालीबाट १०‑१२ क्वि. प्रति हेक्टर र हाईब्रिड जातका कापास बालीबाट २५‑३० क्वि. प्रति हेक्टर कपास उब्जनी हुन्छ। कपासमा ३४‑३६ प्रतिशत भाग रुवा र बाँकी भाग बीउको हुन्छ।

सन्दर्भ सामाग्रीः

साउँद, नरबहादुर, नेपालका बालीनाली र तिनको दिगो खेती, साझा प्रकाशन, ललितपुर, २०६६

Cates, H. R. (1917). Farm practice in the cultivation of cotton (No. 511). US Department of Agriculture.

Dai, J., & Dong, H. (2014). Intensive cotton farming technologies in China: Achievements, challenges and countermeasures. Field Crops Research, 155, 99-110.

 

No comments:

Post a Comment