Tuesday, August 30, 2022

प्राङ्गारीक खेती प्रविधि

कपास खेती प्रविधि

नेपालमा कपास खेती पश्चिम तथा सुदुरपश्चिमका तराई क्षेत्रहरुमा हुँदै आएको छ। विश्वकै सबैभन्दा महत्वपुर्ण औद्योगिक बालीका रुपमा कपासलाई लिईन्छ। कपास बहुउपयोगी बाली हो। यसको रुवा (lint) र बियाँ (seed) दुबै महत्वपुर्ण छन्। कपासलाई मुख्यतः दुई समूहमा विभाजन गरिएको छ- पुरानो दुनियाँको कपास (देशी कपास) र नयाँ दुनियाको कपास (अमेरिकन कपास)। पुरानो दुनियाँको कपास अर्थात देशी कपासको उत्पति भारतमा भएको मानिन्छ भने नयाँ दुनियाँको कपासको उद्गम थलो दक्षिण अमेरिका र उत्तर अमेरिकाको दक्षिण भेग भएको मानिएकोछ।....

सिमल तरुल खेती प्रविधि

 सिमल तरुल खेती प्रविधि

श्रीकृष्ण अधिकारी

वागवानी विकास अधिकृत

 

१.१ बालीको परिचय

सिमल तरुल बहुवर्षिय बाली हो, जसको जरा खानयोग्य मानिन्छ।बहुवर्षिय बाली भएतापनि यो एक वर्षिय बालीका रुपमा खेती गरिदैँ आएको छ। यो बाली संसार भर उष्ण देखि उपोष्ण हावापानीमा खेती गर्न सकिने बाली हो। यसको उत्पति दक्षिण अमेरिकामा भएको पाईन्छ। पोर्चुगिजहरुमार्फत १६ औँ शताव्दिमा अफ्रिकन मुलुक र १७ ‍औँ शताब्दिमा भारतमा यो बाली भित्रिएको अनुमान गरिएको छ। संसारभर विशेष गरी उष्ण हावापानी क्षेत्रमा सिमल तरुल धान र मकै पछि तेस्रो कार्वोहाइडेडको रुपमा खानामा प्रयोग गरिन्छ ।  यसको चिप्स र साबुरदाना बजारमा प्रशिद्ध छ । यसवाट रक्सी, स्टार्च (starch) र ग्लुकोज बनाइन्छ । नाइजेरीयामा सबैभन्दा वढी उत्पादन हुन्छ भने थाइल्याण्ड सुख्खा तरुल (dried chips) निर्यात गर्ने प्रमुख देशमा पर्छ । यसको माटो मुनिको ट्युवर (tuber)  खानका लागि प्रयोग हुने र शक्तिवर्धक हुन्छ। गरिवि राष्ट्रहरुमा जहाँ भोकमरीको समस्या व्याप्त छ, त्यहाँ सिमल तरुल मुख्य खाद्य वस्तुको रुपमा प्रयोग गरिन्छ। करिब ५० करोड मानिसको आधारभुत खाद्य तथा पोषणको श्रोत सिमल तरुल रहेको पाईन्छ। यसले सुक्खा सहन सक्ने र सिमान्तकृत जमिनमा कम हेरचाहमै उत्पादन दिन सक्छ।


 

बालीको बानस्पतिक परिचयः

 


सिमल तरुल “Euphorbiaceae” परिवार अन्तरगत डाँठयुक्त ठाडो करिब ४ मिटरसम्म उचाई भएको बाली हो जसमा पात स्पाईरल क्रममा व्यवस्थित भएको हुन्छ। पातहरु Palmately lobed हुन्छ, जुन ५‑९ वटा सम्म lobes हुन्छ। सिमल तरुल सहबासी (monoecious) र पर‑परागसेचन बाली हो। यसको पुष्पक्रमको फेदतिर पोथी फूलहरु र पुष्पक्रमको टुप्पोतिर भाले फूलहरु हुन्छन्। पोथी फूल भाले फूल भन्दा करिब १० दिन अगाडीनै फूल्दछ। सिमल तरुलमा हाँगा आउने (Branch) र हाँगा नआउने (Non-branch) गरी दुई किसिमको जातहरु देखिन्छ। यसको जरा खान योग्य हुन्छ। जरा बेलानाकार र टुप्पो तर्फ साँघुरिदै गएको बनोटमा हुन्छ। प्राय गरि जरा सेतो, खैरो वा हल्का रातो रङको हुन्छ।

सिमल तरुलको हालको अवस्थाः

नेपालमा सिमल तरुल खेती सन् १९६० दशक तिर प्रवेश गरेको हो। यो नेपालको झापा, मोरङ, सुनसरी, उदयपुर, ईलाम, सर्लाही, सिन्धुली, धनुषा, चितवन, नवलपरासी, दाङ, बर्दिया, कैलाली, कन्चनपुर लगायत जिल्लामा सिमल खेती गरिदैँ आएको छ। नेपालमा यस बालीको कति खेती गरिन्छ भन्ने एकिन तथ्याङ्कन छैन तर तुलनात्क रुपमा हेर्दा नेपालको पश्चिम क्षेत्र भन्दा पुर्वी क्षेत्रमा बढी खेती गरिएको छ। एक सर्वे अध्यन अनुसार नेपालमा यसको उत्पादन प्रति बोट ३ देखि २५ के.जी. रहेको छ भने, करिब ७० % उत्पादकले प्रति बोट ५ के.जी. उत्पादन गर्दै आएका छन्।

नेपालमा माघे संक्रान्ती लक्षित गरेर कन्दमूल बालीको उत्पादन हुन्छ। सिमल तरुल लगायत कन्दमूल बालीको माग अत्याधिक हुने हुदाँ बर्षेनी सो समयमा भारत लगायत छिमेकी मुलुकबाट आयत हुने गरेको पाईन्छ। काठमाण्डौको कालीमाटी बजार, झापाको दमक बजार, बिराटनगर, भरतपुर, पोखारा लगायत देशका ठुला ठुला शहरहरु यसको मुख्य बजार हुन्। काठमाण्डौको कालीमाटी बजारमा मात्रै करिब १५०० टनको हाराहारीमा तरुलको व्यापार हुने गर्दछ, जसमा सिमल तरुलको महत्वपुर्ण स्थान रहेको छ।  यसको हाल मुल्य करिब ५० देखि १५० रुपैँया सम्म छ।

 

महत्व तथा विशेषता

सिमल तरुल कार्वोहाइड्रेडको ठूलो श्रोत हो । यसमा ६०‑६५ प्रतिसत पानी र २०‑ ३१ प्रतिसत कार्वोहाइड्रेड पाइन्छ । यसमा क्याल्सीयम र फस्फोरस र भिटामिन सी प्रशस्त पाइन्छ । क्याल्सीयम ( ५० एम जि /१०० ग्राम ),  फस्फोरस (४० एम जि /१०० ग्राम ) र भिटामिन सी ( २५ एम जि /१०० ग्राम ) पाइन्छ । यसको सेवनबाट कोलेस्ट्रोलको मात्रा न्यून गर्न सहयोग पुग्नुका साथै रोग प्रतिरोधात्कम क्षमतामा बृद्दि हुन्छ।

सिमल तरुलमा हाइड्रोसाइनिक एसिड (HCN) नामक विषालु पदार्थ भएको ले वोक्रा मुनिका रातो छाला तासेर मात्र पकाउनु पर्छ । सिमल तरुल मिठो र तितो प्रकारका पाईन्छन्। मिठो तरुल भन्नाले तितो नभएको तरुल बुझिन्छ। मिठो तरुलमा प्रति केजी २० मि.ग्रा. सायनाईड (HCN) प्राप्त हुन्छ भने तिते तरुलमा भने ५० गुणा बढी करिब १ ग्राम/केजी  सायनाईड (HCN) प्राप्त हुन्छ। चुन प्रयोग नगरेको जग्गामा HCN को मात्रा ५४ पि पि एम पाइन्छ भने चुन प्रयोग गरेको खेतमा ४१ पिपिएम मात्र पाइएको छ।  त्यस्तै नियमित सिचाइ गरेको जग्गामा २२ पिपिएम पाईएको छ भने आकासे खेति गरेको जग्गामा ५५ पपिएिम विषालु हाइड्रोसाइनिक एसिड पाईएको छ ।

सिमल तरुलको चिप्स र साबुरदाना बजारमा प्रशिद्ध छ। यस बाहेक पनि नेपालको पुर्वी पहाडी भेगका जनजाती समुदायहरु जस्तै मगर, गुरुङ, राई, चेपाङ, लिम्बु आदिले तरुललाई उसिनिएर वा पोलेर सेवन गर्ने गर्दछन्। त्यस्तै गरि यसबाट ढिँडो, रोटी, दाल, तितौरा आदि परिकार बनाएर प्रयोग पनि गरिन्छ। यसका साथै यसबाट रक्सी, जाँड पनि बनाउने चलन रहेको छ।

सिमल तरुलको सामान्य सेवन बाहेक माघे संक्रान्ती पर्वमा यसको विशेष महत्व रहेको पाईन्छ। माघे संक्रान्तीमा तरुलको सेवन गरेमा चिसो हट्छ भन्ने जनविश्वास पनि रहेको छ।

 

१.२ खेती प्रविधि

 

हावापानी तथा माटोः

यो पुर्ण रुपमा उष्ण प्रदेशिय वाली हो तर पनि यो उपोष्ण हावापानीमा पनि खेती गरिन्छ। संसार भरी सिमल तरुल २० उत्तर र २० दक्षीण अक्षाँशममा खेती गरीन्छ । साधारणतया यसलाई गर्मि र ‍ओसिलो हावापानी (Warm humid climate) चाहिन्छ । १०  से. भन्दा तलको तापक्रममा यसको वृद्धि रोकिन्छ । त्यसले तुषारो नपर्ने ठाँउमा यसको खेति गरिन्छ । सिमल तरुल समुन्द्र सतह देखी १५० मि. को उचाईसम्ममा राम्रो संग यसको खेति गर्न सकिन्छ । जहाँ तापक्रम २५–२७ से. रहिरहन्छ । तर कुनै कुनै जात १५०० मि. को उचाईसम्म गर्न सकिन्छ । यसको खेति ५००–५००० मि.मि. वर्षा हुने ठाउँमा गर्न सकिन्छ । तर यो पानी जम्ने ठाँउमा भने हुर्कन सक्दैन। पात झरेर २–३ महिना सम्म सुशुप्त अवस्थामा रहिरहन्छ । यो छोटो दिनमा हुने वाली (Short day plant) हो। सुर्यको प्रकाश १२ घण्टा सम्म पर्ने ठाउँमा उत्पादन राम्रो हुन्छ । लामो दिनमा स्टार्चको बचत राम्रो हुँदैन । यो वाली ले सुख्खा सहन सक्ने क्षमता राख्दछ । यसलाई पि.एच. ४ देखि पि.एच. ८ सम्मको अम्लियपनामा खेती गर्ने सकिन्छ।

जातहरुः

नेपालमा स्थानिय सेतो र रातो जात मात्र कन्दमुल तरकारी विकास केन्द्र सिन्धुलीमा रहेको छ। भारतमा निम्न हाइव्रीड जातहरु विकास गरिएको छ ।

·         एच – ९६ ( H-97)

यो हाइब्रिड जात  हो। यो लगाएको १० महिनामा उत्पादन लिन सकिन्छ र यसको उत्पादन २५–३० टन/हेक्टर सम्म हुन्छ । यो जातमा हाँगाहरु आउँछ ।

·         एच – १६५ (H-165)

यो हाइव्रीड जातमा हाँगाहरु नआउने र पातहरु तलतिर झुकेको हुन्छ । तरुल छोटो क्रिम रगंको हुन्छ । यो रोपेको ८–९ महिनामा उत्पादन लिन सकिन्छ । यो जातको उत्पादन ३३–३८ टन/हे. सम्म हुन्छ ।

·         एच – २२६ (H-226)

यो हाइव्रीड जातमा केही मात्रा हाँगा हरु आउँछ । यसले रोपेको १० महिनामा उत्पादन दिन्छ र प्रति हे. उत्पादन ३०–३५ टन सम्म हुन्छ । तर यो जातले मौजाईक रोग सहन सकिदैन।

·         श्री सया (Shree Sahya)

यो हाँगा नहुने जात हो र रोपेको १०–१० महिनामा उत्पादन लिन सकिन्छ । यसको उत्पादन ३५–४० टन/हे. सम्म हुन्छ ।

·         श्री बैशाखम (Shree Vaisakham)

यो जातमा केही मात्रामा हाँगाहरु आउँछ । रोपेको १० महिनामा उत्पादन लिन सकिन्छ। यसको उत्पादन ३५–३८ टन/हे. सम्म हुन्छ ।

·         श्री प्रकाश (Shree Prakash)

यो हाँगा नहुने जात हो र यसको ७–८ महिनामा नै वाली तैयार हुन्छ ।  यसको उत्पादन ३५–४० टन/हे. सम्म हुन्छ ।

·         श्री हर्षा (Shree Harsha)

यो ट्राइप्लाइड (Triploid) हाँगा नआउने, खान मिठो, वाली ७–८ महिनामा तैयार हुने र उत्पादन ३४–४० टन/हे. सम्म हुन्छ ।

·         श्री जया (Shree Jaya)

यो धेरै छिटो तैयार हुने जात हो । यो रोपेको ६ महिनामा वाली खन्न तैयार हुन्छ । यसको उत्पादन २६–३० टन/हे. हुन्छ ।

·         श्री विजय (Shree Bijaya)

यो जात पनि लगाएको ६ महिनामा तयार हुने र उत्पादन २५–२८ टन/हे. हुन्छ ।

·         एम ४ (M 4)

यो हाँगा नआउने जात हो र खान अति मिठो हुन्छ । रोपेको १० महिनामा उत्पादन लिन्छ। उत्पादन १८–२३ टन/हे. हुन्छ ।

·         श्री रेखा (Shree Rekha)

यो जातको हाँगाहरु माथी फर्कैको खान लाई अति स्वादिलो र उत्पादन १८–२३ टन/हे. हुन्छ । वाली १० महिनामा तैयार हुन्छ ।

·         श्री प्रभा (Shree Prava)

यो जातमा केही मात्रा हाँगा आउने र रोपेको १० महिनामा उत्पादन लिन सकिन्छ । उत्पादन ३५–४० टन/हे. सम्म हुन्छ ।

·         निधि (Nidhi)

यो अति छिटो वाली तैयार हुने जात हो । यो रोपेको ५–६ महिना उत्पादन दिन्छ र उत्पादन २५ टन/हे. हुन्छ ।

·         कलपका (Kalpaka)

यो पनि अगौटे जात हो । रोपेको ६ महिनामा वाली तैयार हुन्छ । यो हाँगा नआउने जात हो र उत्पादन २८ टन/हे. सम्म हुन्छ ।

·         सि.ओ. – ४ ९ ( CO-4)

यसको उत्पादन ५० टन/हे. सम्म हुन्छ र यसमा स्टार्च ४० प्रतिसत सम्म हुन्छ । यसले कत्ले किरा र रातो सुलसुले किरा को प्रकोप सहन सकिन्छ ।

·         भेलयानि ह्रस्वा (Vallayani Hraswa )

यो छोटो समयमा तैयार हुने (५–६ महिनामा ) र खानलाई स्वादिलो हुन्छ । उत्पादन ४४.०१ टन/हे. सम्म हुन्छ ।

 

अन्तरबालीः

अन्तरवाली खेती पद्दतिले गर्दा निश्चित क्षेत्रफलबाट बढी आम्दानी लिन सहयोग पुर्‍याउछ। सुरुको २‑३ महिना कोशेबालीलाई अन्तरबालीको रुपमा खेती गर्दा खेती प्रणाली प्रभावकारी पाईएको छ।   सिमल तरुल वालीको विचमा घ्यु सिमी  खेती राम्रो मानिन्छ। त्यस्तै सिमल तरुल सँगै वदाम र वोडी लगाउँदा सिमलतरुल र वदामको उत्पादन राम्रो भएको भेटिन्छ।  

 

जमिनको तयारी

जग्गा २०–२५ से. मि. तल सम्म माटो खुकुलो गरी जोत्नु पर्छ । जग्गाको अवस्था अनुसार ढिस्को (Mound) वा ड्याङ वा व्याडमा तैयार गर्नु पर्छ । राम्रो सँग तैयार गरेको जग्गामा वढी उत्पादन हुन्छ । जग्गा तयारी गर्दा पानी नजम्ने कुरा सुनिश्चित गर्नुपर्दछ। यसका लागि पानी नजम्ने गरी उठेको व्याड बनाँउदा उचित हुन्छ। रोपेको ३० दिन पछि एक देखि तीन पटक सम्म माटो ड्याङमा चढाउने कार्य गर्नुपर्दछ, साथै समय समयमा झारपात हटाउने कार्य उचित हुन्छ।

 

मलखाद

बाली उत्पादनका लागि मलखाद के कती प्रयोग गर्ने भन्ने कुरा खेती गर्ने स्थानको माटोको गुणस्तर र उर्वराशक्तीमा भर पर्दछ। अन्य बाली भन्दा फरक सिमल तरुललाई पोटासको मात्रा बढी चाहिन्छ। विशेष गरी एकै स्थानमा लगातार खेती गर्दा पोटासको मात्रा कमि हुने र पोटासकै कारण उत्पादनमा असर पर्ने हुनसक्छ।

मलखादको आवश्यकता सिँचित र वर्षामा आधारित खेती पद्दतिमा पनि भर पर्दछ। विभिन्न लेख तथा रिपोर्टहरुमा सिमल तरुलका लागि आवश्यक मलखाद बारे फरक फरक सिफारिस मात्रा भेटिन्छन्। सामान्यतया, सिचिँत जमिनमा धेरै उत्पादन लिनका लागि जग्गा तयार गर्ने बेलामा २० देखि २५ टन/हे. कम्पोष्ट वा गोठेमलको प्रयोग गर्नुपर्दछ। त्यस्तै गरी जग्गा तयार गर्ने वेलामा ४५ किलो नाइट्रोजन, ९० किलो फस्फोरस, र १२० किलो पोटास प्रति हे. का दरले माटोमा मिलाउनुपर्दछ। रोपेको ७०‑९० दिन पछि पुनः ४५ किलो नाईट्रोजन र १२० किलो पोटास मल प्रति हेक्टर दिनुपर्छ र त्यहि वेलामा माटो चढाउने काम पनि गरिन्छ ।

त्यस्तै गरी वर्षामा आधारित खेती पद्दतिमा भने जग्गा तयार गर्ने बेलामा १५ देखि २० टन/हे. कम्पोष्ट वा गोठेमलको प्रयोग गर्नुपर्दछ। जग्गा तयार गर्ने वेलामा ५० किलो नाइट्रोजन, ६५ किलो फस्फोरस, र १२५ किलो पोटास प्रति हे. का दरले माटोमा मिलाउनुपर्दछ। रोपेको ४५‑५० दिन पछि पुनः ५० किलो नाईट्रोजन र १२५ किलो पोटास मल प्रति हेक्टर दिनुपर्छ।

लगालग एकै बाली खेती गर्ने स्थानमा सुक्ष्म तत्व जस्तै जिंक, म्याङ्गानिज, फलाम, तामा र बोरोनको कमि देखिन सक्ने हुँदा यी तत्वहरु सहितको सुक्ष्म तत्व कम्पेल्क्सलाई आवश्यकता अनुसार रोपेको ४०‑४५ दिनपछि बोटमा फोलियर स्प्रे गर्न सकिन्छ।

बाली लगाउने समयः

सिमल तरुल सिँचित र वर्षामा आधारित दुवै खेती प्रणालीमा गर्न सकिन्छ। सिचिँत खेतीमा बाली लगाउनका लागि वर्ष भरी जुनसुकै समय उपयुक्त हुन्छ भने वर्षातमा आधारित खेती प्रणालीमा भने वर्षा सुरु हुनु भन्दा ठिक अघि बाली लगाउन सकिन्छ। नेपालमा यसको खेती प्रायः बैशाखको अन्तिम हप्ता देखि जेष्ठको शुरु हप्तामा गर्ने गरिन्छ।  

 

बीउको दर  र रोप्ने तरिकाः

सिमल तरुलको वानस्पतिक प्रसारण विधिबाट बिरुवा उत्पादन गरिन्छ। यसको लागि हाँगाको कटिङ (सेट) तयार गरि प्रसारण गरिन्छ। सेटका लागि हाँगा छनौट गर्दा कम्तिमा ८ महिना पुरानो र रोग किरा संक्रमण नभएको हाँगा छनौट गर्नुपर्दछ। कटिङ लिदाँ फेद तर्फको वा टुप्पो तर्फको कमलो भाग लिनु हुँदैन।  करिब २५ से.मी. लामो ८‑१० वटा आँख्ला भएको डाँठको करिव बिच भागलाई कटिङको रुपमा प्रयोग गर्नुपर्दछ। उक्त कटिङलाई रोप्ने बेलामा सिधा ठाडो पारेर रोप्नु पर्दछ। सेटको टुप्पो भाग माथि तर्फ फर्काएर रोप्नु अति आवश्यक हुन्छ। करिब ४५% छड्के पारेर रोप्दा राम्रो पाईएको छ। कटिङ गर्दा टुप्पो भाग गोलो सिधा (horizontal sharp cutting)

काट्नु पर्दछ भने फेद तर्फको भाग छड्के कटाई गर्नुपर्दछ।कटिङ गर्ने साधन धारिलो हुनुपर्दछ र कटाई स्पष्ट हुनुपर्दछ। यसरी तयार पारिएको सेटलाई करिब १५ दिन जति छायाँदार ठाँउमा राखेर रोप्दा राम्रो नतिजा प्राप्त हुन्छ। सेटलाई रोप्नु भन्दा १५ मि अघि कार्वेन्डाजिम १ ग्रा./लि. पानीमा डुवाएर उपचार गरी रोप्दा प्रभावकारी हुन्छ। सेट रोपण गर्दा ५ से.मी. गहिराईमा रोप्न उपयुक्त हुन्छ। तर माटोको अवस्था तथा चिस्यानमात्रा हेरिकन ५‑१० से.मी. गहिराईमा पनि रोप्न सकिन्छ। सिँचाईको सुविधा कम भएको तथा पानी कम पर्ने ठाँउमा खेती गर्नुपर्नेछ भने त्यस्तो अवस्थामा रोपण गर्ने सेटलाई मनसुन सुरुहुनु पुर्व अर्थात जेष्ठको पहिलो‑दोस्रो हप्तामा सिँचाई सुविधा भएको नर्सरीमा ४.५ से.मी. X ४.५ से.मी. को दुरीमा हाँगामा कोपिला फुट्ने (sprouting) अवस्था सम्म (करिब २० दिन) राख्ने र त्यस पछि रोप्दा उत्पादन राम्रो हुने कुरा अनुसन्धानवाट पुष्टि भएको छ । तर वढी पानी पर्ने ठाउँमा परम्परा देखी आएको समयमा सिधा फिल्डमा रोप्दा हुन्छ।


 

सिमलतरुल कति दुरीमा रोप्ने भने कुरा हाँगा आउने वा हाँगा नआउने जातमा भर पर्छ । साधारणतया हाँगा नआउने  (non-branching) जात ७५ से.मी. X ७५ से.मी. को दुरीमा र हाँगा हाउने (Branching or semi branching variety )  जात लाई ९० से.मी. X ९० से.मी. को दुरीमा रोप्दा राम्रो उत्पादन दिईएको पाईएको छ । हाँगा नआउने जात लाई एक ठाउँमा दुई वटा विरुवा रोप्दा (Two stalks Hill )  वढी उत्पादन हुन्छ।  एक हेक्टरका लागि १७००० सेटको आवश्यकता पर्दछ।

 

विरुवा रोपेको केहि समय पछि केहि ठाउँहरुमा पर्ने वा ढाठवाट मुना (Sprouting) नहुने भएकोले खालीठाउँमा पुनः विरुवा नलगाएमा प्रति हे. उत्पादनमा ह्रास हुन्छ । त्यसैले खाली ठाउँहरुमा विरुवा रोपेको १५ दिन भित्र ४० से. मि. लामो हाँगाहरु रोप्दा मात्र समान्य उत्पादन दिन्छ । साधारणतय २०  से.मि को सेट रोप्ने चलन भएपनि खाली ठाउँमा १५ दिन पछि रोप्दा ४० से.मि. को सेट २० से.मि. को सेट भन्दा ५०% वढी उत्पादन दिन्छ ।

 

सिंचाइ

सिमल तरुलाई सिँचित र वर्षामा आधारित दुवै खेती प्रणालीमा गर्न सकिने र सुख्खा सहन सक्ने क्षमता भएतापनी तरुल रोपण गरेको पहिलो ३ हप्तासम्म चाँहि माटोमा चिस्यान मात्रा हुनु जरुरी हुन्छ जसले गर्दा जराको स्वस्थ विकास हुन पाँउछ। सिँचाईको मात्रा कति आवश्यक हुन्छ भन्ने कुरा माटोमा हुने चिस्यान र वर्षाको मात्रामा पनि भर पर्दछ। सामान्यतया सेट रोपण गरेको ३ दिन पछि एक चोटी र त्यसपछि ७‑१० दिनको फरकमा ३ महिनासम्म र त्यस पश्चात २०‑३० दिनको फरकमा ८ ‍औँ महिनासम्म सिँचाई दिदाँ उपयुक्त हुन्छ।

 

काँटछाँट

एउटा बोटमा धेरै हाँगाहरु उम्रन सक्छ, त्यसमा पनि माथिल्लो कोपिला (Bud) छिटो छिटो बढ्ने भएकोले १०–१५  दिन पछि   त्यसलाई भाचेर दुईवटा आमने सामने (Opposite side)  लाई मात्र बढ्न दिएमा भुईमा तरुल एक रुपले धेरै संख्यामा उत्पादन हुन्छ। 

बाली रोपको ८ महिना पछी (फाल्गुण महिना) जमिनबाट ३० से.मी. उचाई राखेर त्यो भन्दा माथीको भागलाई काटिदिने र पालुवा पलाउन दिने हो र अर्को ८ महिना खेतबारीमा हुर्कन दिने हो भने तरुलको उत्पादनमा दोब्बर हुने तथा गुणस्तरमा कुनै कमि नहुने अध्ययनले पुष्टि गरेको पाईन्छ।

गोडमेल

पहिलो गोडमेल रोपेको ४५–६० दिनमा गहिरो संग माटो चलाउने तथा मलखाद प्रयोग गर्ने र त्यसको १ महिना पछि माटो हल्का उठाउने (Earthing up) र झारपात हटाउने कार्य गर्नुपर्दछ।

 

बाली संरक्षण (मूख्य रोग तथा कीरा र व्यवस्थापनका उपायहरु)

कन्दमूल बालीहरुमा खासै रोग कीराको समस्या हुँदैन। तर पनि कहिले काँही निम्नानुसारका रोग कीरा देखिएमा व्यवस्थापन गर्नुपर्ने हुन्छ।

क.               कत्ले किरा

डाइमेथोएट ३०% इ सी (रोगर, अनगर,रोगोहिट) १ मिलि प्रतिलिटर पानीमा मिसाइ दुई दुई  महिनामा एक पटक छर्ने ।

ख.                धमिरा

क्लोरोपाईरिफोस २०% ई.सी. २ एम. एल./ लि. पानीमा मिसाई माटो भिज्ने गरी प्रयोग गर्ने।

ग.                 सुलसुले

प्रोपरजाइट ५७ % इ सी (किंगमाइट, अमाइट) ३ मिलि प्रतिलिटर पानीमा वा रोगर १ एम एल प्रतिलिटर पानीमा मिसाई १५ दिनको फरकमा ३ पटक छर्ने  

 

रोगहरुः

सिमल तरुलमा कसाभा मोज्याईक रोग कहिले काहि फाटफुट रुपमा देखा पर्छ। पात छोटो हुनु वोट फुडके हरु र पात दोव्रिने देखिन्छ । यसका लागि भाईरस ट्रान्सफर गर्ने सेतो झिङ्गाको व्यवस्थापन गर्नुपर्दछ।

 

बाली भित्र्याउने समय तथा उत्पादन

सिमल तरुल जात अनुसार ६–१० महिनामा तैयार हुने भएकोले खन्ने काम गरिन्छ । १० महिनामा खन्दा सबैभन्दा वढी उत्पादन भएको देखिन्छ। छिटो उत्पादन हुने जात ६–७ महिनामा नै तैयार हुन्छ । यदि बोटको पात ‌ओईलाएका  तथा ५०% पातहरु सुक्न थाले भने बाली भित्र्याउनका लागि बोट परिपक्क भएको भनि थाहा पाउन सकिन्छ।  ढिलो गरी खन्दा गुणस्तरमा ह्रास आउछ। सिमल तरुल खन्दा पुरै बोट नै उखल्ने चलन छ । उखेलेको हाँगाहरुलाई पुन रोपणको लागी छायादार ठाउँमा राखिन्छ ।जरा खनेको ३‑४ दिनपछी राम्रो भण्डारण गर्न सकिएन भने विग्रीन्छ।

छोटो समयमा तयार हुने जात २५–३० टन/हे. उत्पादन दिन्छ भने अरु जातहरु ३०–४० टन/हे. उत्पादन दिन्छ ।

 

1.3    बजारीकरण

नेपालमा माघे संक्रान्ती लक्षित गरेर कन्दमूल बालीको उत्पादन हुन्छ। सिमल तरुल लगायत कन्दमूल बालीको माग अत्याधिक हुने हुदाँ बर्षेनी सो समयमा भारत लगायत छिमेकी मुलुकबाट आयत हुने गरेको पाईन्छ। काठमाण्डौको कालीमाटी बजार, झापाको दमक बजार, बिराटनगर, भरतपुर, पोखारा लगायत देशका ठुला ठुला शहरहरु यसको मुख्य बजार हुन्। काठमाण्डौको कालीमाटी बजारमा मात्रै करिब १५०० टनको हाराहारीमा तरुलको व्यापार हुने गर्दछ, जसमा सिमल तरुलको महत्वपुर्ण स्थान रहेको छ।  यसको हाल मुल्य करिब ५० देखि १५० रुपैँया सम्म छ।

 

.४   जातिय संरक्षणको महत्व एवं उपायहरु

·         सिमान्तकृत जमिनमा कम श्रममा खेती गरेर  कम लागतमा उत्पादन लिन सकिने हुदाँ यस किसिमका बालीहरुलाई महत्वपुर्ण रुपमा लिईन्छ।

·         बढ्दो जनसंख्या र खेती योग्य जमिनमा शहरीकरण तथा वस्ती विस्तार हुँदैजादा मुख्य खाद्यन्न बालीले खाद्यसुरक्षा नधानेको अवस्थामा यस किसिमका बालीको विशेष महत्व रहेको

·         खाद्यन्न आयतलाई न्यूनिकरण गर्न तथा पौष्टिक तत्व सुनिश्चितताको लागि खाद्य विविधिकिरण गर्नका लागि पनि यस किसिमका कन्दमूल बालीको संरक्षण, सम्वर्द्धनको आवश्यक रहेको

·         हाइब्रिड र आधुनिक प्रजातिहरुमा कृषिले नेपालको दुर्गम र पहाडी क्षेत्रमा खाद्य सुरक्षाको

सुनिश्चितता गर्न नसकेको अवस्थामा मुलुकका यस किसिमका प्रजातिहरु लोपोन्मुख अवस्थामा हुदाँ थप समस्य सृजना हुने

सिमल तरुल लगायत यस किसिमका बालीहरुलाई संरक्षण तथा प्रवर्द्धन गर्नका लागि प्रविधिको विकास र मूल्य श्रृखंलाको विकास, सरकारी तथा गैर्हसरकारी संघ संस्था लगायतका सरोकारवालाहरुबाट कृषक, कृषक समुह, सहकारीहरुलाई प्रोत्साहन गर्ने र यसको आवश्यकता र महत्वका बारेमा जनसेचतना कार्य सञ्चालन गर्ने जस्ता कृयाकलापमा जोड दिनुपर्दछ। 

सन्दर्भ सामग्री सूचि

·         https://beta.gorkhapatraonline.com/mainnews/2020-01-15-7097

·         Shrestha, G. K. (1992). Cassava production and research in Nepal. Historical review and future direction Cassava breeding, agronomy and utilization in Asia, 144-148.

·         https://samachardainik.com/news-details/59685/mail-to

·         https://www.ipipotash.org/publications/eifc-284

·         K. Susan JohnV. K. VenugopalP. Saraswathi. (2007) Yield Maximization in Cassava through a Systematic Approach in Fertilizer UseCommunications in Soil Science and Plant Analysis 38:5-6, pages 779-794.

·         Mandal, R.C. ,K.D. Singh and S.B.Maini. 1973. Effect of plant density , fertility level and               shoot number om tuber yield  and quality of tapioca.Ind.J.Agron.18:498-503

यसरी गर्न सकिन्छ फौजी कीराको व्यवस्थापन ?

 

  • मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने ।

  • राम्रोसँग खोस्टाले घोगा छोपिने जातको मकै लगाउने ।
  • बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात एक हप्ताभित्र रोप्ने ।
  • मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ ।
  • डेस्मोडियम घाँस यो कीरालाई मन नपर्ने हुनाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मन पर्ने नेपियर घाँस लगाएर कीरालाई आकर्षित गर्ने आकर्षित भएका किरालाई विषादी प्रयोग गरी मार्ने ।
  • अण्डाहरु संकलन गरेर नष्ट गर्ने ।
  • गुभोमा मसिनो माटो वा खरानी राख्दा पनि यसको नियन्त्रणमा सघाउँछ ।
  • हरियो खुर्सानी गाईको गहुँतमा पकाएर १ : १० को अनुपातमा पानी मिसाएर गुभोमा राख्दा पनि प्रभावकारी हुन्छ
  • सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाइ किराको प्रकोप सहन सक्ने पार्ने ।
  • मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
  • मकैको पातमा प्वाल परेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
  • विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्ने गरी छर्ने ।
  • एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने ।
  • जैविक विषादीको हकमा ब्याक्टेरियामा आधारित विषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानीमा राखेर छर्ने ।
  • अण्डाको परजीवी किरा ट्राइकोग्रामा वा टेलिनोमस नामक बारुला छोड्ने ।
  • मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन वेन्जोयट ५ प्रतिशत एस.जी. ०.४ ग्राम, क्लोरान्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. ०.४ मिलिलिट, स्पिनोस्याड ४५ प्रतिशत एसी ०ं३ मिलिलिटर, स्पाइनेटोराम ११.७ प्रतिशत एस.सी ०.४ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने
  • विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल गुभोमा समेत पर्ने गरी छर्ने ।

Monday, August 29, 2022

जिवामृंत बनाउने तरिका


कसरी बनाईन्छ त जिवांमृत? 

 

कपास खेती प्रविधि

 कपास खेती प्रविधि

श्रीकृष्ण अधिकारी

वागवानी विकास अधिकृत

नेपालमा कपास खेती पश्चिम तथा सुदुरपश्चिमका तराई क्षेत्रहरुमा हुँदै आएको छ। विश्वकै सबैभन्दा महत्वपुर्ण औद्योगिक बालीका रुपमा कपासलाई लिईन्छ। कपास बहुउपयोगी बाली हो। यसको रुवा (lint) र बियाँ (seed) दुबै महत्वपुर्ण छन्। कपासलाई मुख्यतः दुई समूहमा विभाजन गरिएको छ‑ पुरानो दुनियाँको कपास (देशी कपास) र नयाँ दुनियाको कपास (अमेरिकन कपास)। पुरानो दुनियाँको कपास अर्थात देशी कपासको उत्पति भारतमा भएको मानिन्छ भने नयाँ दुनियाँको कपासको उद्गम थलो दक्षिण अमेरिका र उत्तर अमेरिकाको दक्षिण भेग भएको मानिएकोछ। हिन्दु संस्कारमा कपासको प्रयोग निकै अघि भएको विभिन्न तथ्यहरुले प्रमाणित गर्दछ। भारतमा नै ईस्वीपुर्व १८०० देखि कपासको प्रयोग भएको देखिन्छ। नेपालमा कपास उत्पादन हुने प्रमुख जिल्लाहरु क्रमशः दाङ, बाँके, कञ्चनपुर, बर्दिया, कैलाली र सुर्खेत हुन्।


कपासको वर्गिकरणः

कपास बाली गोसिपियम (Gossypium) वशं अन्तरगत पर्दछ। यस वशंभित्र खेती गरिने र जङ्गली गरी जम्मा बीस वटा प्रजाती पर्दछन्। खेती गर्न सकिनेमा रुवा (lint) कात्‍न सकिने किसिमको हुन्छ भने जङ्गलीको रुवा निकै छोटो हुने हुदाँ कात्‍न मिल्दैन।

महत्वपुर्ण खेतीयोग्य कपासका प्रमुख चार प्रजातिहरुलाई दुई समुहमा विभाजन गर्न सकिन्छः

क)    पुरानो दुनियाँको देशी कपास

१)     आर्बोरियम कपास

व्यापारिक रुपले सर्वप्रथम प्रयोग भएको कपास सम्भवतः यहि नै हो। यसको बोट १.५ देखि २ मि. अग्लो हुन्छ। हाँगा र डाँठ मसिना रौँ युक्त हुन्छन्। यसका फूलहरु अक्सर राता हुन्छन्। यसको रेसा खस्रो र छोटो (१‑२.१ से.मी) तर बलियो हुन्छ। यो प्रजातिको उत्पादन क्षमता कम हुन्छ। नेपालमा खेती गरिने स्थानीय जातहरु यसै प्रजाति अन्तरगत पर्दछन्।

२)     हर्वासियस कपास

यो एशियाको प्रमुख कपास हो। यसको बोट १ देखि १.५ मि. अग्लो हुन्छ। हाँगा र डाँठ मोटो हुन्छन् र पातला रौँ हुन्छन्। यसका फूलहरु पहेँला हुन्छन्। यसको रेसा छोटो (१.५‑२.३ से.मी) तर बलियो हुन्छ। यसको रुवा निम्नस्तरीय कपडा, कार्पेट, कम्बल बनाउन प्रयोग हुन्छ साथै ऊनसँग मिसाउन प्रयोग गरिन्छ।

ख)    नयाँ दुनियाँको अमेरिकन कपास

१)     हिर्सुटम कपास

यो अमेरिकन कपास हो। यसको बोट १.५ मि. अग्लो हुन्छ। डाँठ हरियो वा खैरो हुन्छ। हाँगा र डाँठमा बाक्ला मसिना रौँ (झुस) हुन्छन्। यसका फूलहरु सादा, सेतो वा हल्का पहेँला हुन्छन्।कपासको डल्लो ४‑५ कोठे हुन्छ। बीउको चारैतिर रुवा हुन्छ। यसको रेसा १.५‑३.५ से.मी लामो हुन्छ। यस कपासले सबैभन्दा बढी (५०% भन्दा बढी) क्षेत्रफल ओगटेको छ।

 

२)     बार्बाडेन्स कपास

यसका फूलहरु पहेलो रङ्गमा बैजनी दागयुक्त हुन्छन्। कपासको डल्ला तीन कोठे हुन्छन्। बीजको छेउबाट मात्र रुवा उत्पन्न हुन्छ। यो पनि २ किसिमको छः

·         सी‑आईल्याण्ड कपासः यसको रेसा मिहिन, बलियो, हल्का क्रिम रङ्गको रेशम जस्तै देखिने हुन्छ। यसको कपास रेसा अन्य कपासहरुको भन्दा लामो ( ५ से.मी. वा बढी), बलियो र उच्च कोटीको हुन्छ तर उब्जनी भने न्यून छ।

·         ईजिप्सियन कपासः सी‑आईल्याण्ड कपासको जस्ते रुवा हुने तर केहि छोटो र खैरो रङ्गको हुन्छ। यसको रुवा अत्यन्त बलियो हुन्छ। यसको खेती क्षेत्रफल नगण्य छ।

वानस्पतिक विवरणः

कपासको बिरुवा प्राकृतिक रुपले बहुवर्षिय झाडी हो तर यसलाई खेति गर्दा एक वर्षिय बालीका रुपमा खेती गरिन्छ। यसको खेती गरिने बिरुवा शाकीय (झार वर्गीय) हुन्छ, जसको उचाई ०.६‑२ मि उचाई सम्म हुन्छ। जरा मुसलाकार हुन्छ र मूल जराबाट सहायक जराहरु उत्पन्न हुन्छ। मुख्य डाँठ ठाडो र निकै झाँगिएको हुन्छ। मुख्य डाँठको आँख्लामा अवस्थित मुनाहरु हाँगाका रुपमा विकसित हुन्छन्। कपासको प्रत्येक पातको पर्णवृन्त (petiole) को आधारमा (base) दुईवटा मुना हुन्छन्। एउटा मुनाबाट वानस्पतिक हाँगा उत्पन्न हुन्छ भने अर्को मुनाबाट फलदार हाँगा उत्पन्न हुन्छ। कहिलेकाहि फलदार हाँगा उत्पन्न हुने मुनाबाट पनि वानस्तपतिक हाँगा निस्कन सक्छ। वानस्पतिक हाँगा र मुख्य डाँठमा पात सर्पिल (spiral) आकारले उत्पन्न हुन्छ भने फलदार हाँगामा पात एकान्तर (alternate) पक्तींमा उत्पन्न हुन्छन्।फूलहरु फलदार हाँगामा मात्र लाग्दछ। फूलको रङ्ग, फलको आकार तथा कोठा संख्या कपासको जातमा भर पर्दछ। कपासको बिरुवामा रोपेको ३०‑६० दिनमा हाँगिने पक्रिया र करिव सय दिनमा पुष्पावस्था प्राप्त हुन्छ। बीउको बोक्रामा बाह्य चर्मीय कोष (epidermal) लम्चिएर कपासको रेसा बन्छ। लामो रेसालाई रुवा (staple or lint) र सानो छोटो रेसालाई रुवो (fuzz) भनिन्छ।

हावापानीः

न्यानो जलवायु खेतिका लागि उपयुक्त हुन्छ। यसको खेती उष्ण र उपोष्ण क्षेत्रमा ग्रीष्म‑वर्षाकालिन बालीका रुपमा खेती गर्न सकिन्छ। कपास खेतीका लागि उपयुक्त तापक्रम १६‑३२ से. हो। १६ से. भन्दा कम तापक्रममा बीउ अंकुरण राम्रो हुन्छ। बालीले ४३ से. सम्म उच्च तापक्रम सहन सक्छ तर २१ से. भन्दा कम तापक्रममा वानस्पतिक बृद्दि हुन सक्दैन। फलन अवस्थामा यसलाई २७‑३२ से तापक्रम र ठन्डा रातहरु चाहिन्छ। फलन अवस्थामा रात र दिनको तापक्रम धेरै अन्तर भएमा डल्ला र रुवाको विकासका लागि बढी अनुकुल वातावरण हुन्छ।

यस बालीका लागि एकैनासको वितरित वर्षा राम्रो मानिन्छ। वार्षिक ५०‑७५ से.मी. वर्षा उपयुक्त हुन्छ।यस बालीलाई रोपण देखि पुष्पावस्था सम्म माटोमा चिस्यान कायम गरिदिनुपर्दछ। डल्ला विकास हुने अवधिमा भारी वर्षा भएमा वा भारी सिँचाई दिएमा फूल र अल्पायू डल्लाहरु झर्ने हुनसक्छ। कपासको डल्लाहरु परिपक्क हुने र कपास टिप्ने समयमा प्रशस्त घमाईला दिनहरु भएमा उच्च गुणस्तरको कपास प्राप्त हुन्छ।

कपासको बिरुवाले तुसारो सहन सक्दैन। करिब १००० मि. उचाई भन्दा माथी कपास खेती गरिदैन। वार्षिक ९० से.मी. भन्दा बढी वर्षा हुने क्षेत्र कपास खेतीका लागि उपयुक्त हुँदैन। कपास खेती सिञ्चित वा असिञ्चित दुवै अवस्थामा गर्न सकिन्छ।

माटोः

कपास खेतीका लागि दोमट वा बलौटे दोमट माटो उपयुक्त हुन्छ। पाँगो माटो मिसिएको दोमट माटो पनि उपयुक्त हुन्छ। मकै खेती हुने प्रायः माटोमा कपास खेती हुन्छ। माटोले चिस्यान थाम्न सक्ने तर धरे जलभरण नहुने माटो उपयुक्त हुन्छ। पानी जम्ने माटो तथा ज्यादै भिरालो जमिन कपास खेतीका लागि राम्रो मानिदैन। माटोको अम्लियपन ५.५‑८.५ हुनु उपयुक्त हुन्छ।

उपयुक्त जातहरुः

१.     ट्यामकट एस पी‑३७

२.     एफ‑१०५४

बालीचक्र र मिश्रित खेतीः

कपास वर्षे बाली हो। यसको रोपण बैशाख देखि जेठमा गरिन्छ र मङ्सीरमा टिपाई गरिन्छ। कपासबाली भित्र्याएपछि त्यस खेतवारीमा हिउँदे बालीहरु जस्तैः गहुँ, चना, केराउ, आलस, आलु, प्याज आदि लगाउन सकिन्छ। कपास टिप्न ढिला भएमा कपासपछि सूर्यमुखी वा बदाम रोप्न सकिन्छ।

कपासबालीसँग तिल, कोदो, खुर्सानी, बदाम, आदि लगाउन सकिन्छ तर भिन्डी लगाउन हुँदैन। भिण्डीले रोग कीरा निम्त्याउन सक्छ।

जमिनको तयारी

कपासको जरा ९०‑१२० से.मी. सम्म फैलने हुदाँ गहिरो जोताईको आवश्यकता पर्दछ। गोठेमल वा कम्पोष्टमल कपास रोप्नुभन्दा २‑३ साता अगावै खेतवारीमा एकनासले फिँजाएर माटोमा मिलाउनुपर्दछ।

बीउ र रोपण

१)     रोप्ने समय

सिञ्चित क्षेत्रमा कपास रोप्ने उपयुक्त समय बैशाख मध्यदेखि जेठ मध्य हो। चाँडै परिपक्क हुने जातहरुभन्दा ढिला परिपक्क हुने जातहरु चाँडै रोप्नुपर्दछ। समय भन्दा अगाडी रोपेमा वानस्पतिक वृद्दिमात्र भई उत्पादनमा कमी हुन्छ। असिञ्चित क्षेत्रमा मनसुनपुर्व एक दुई पटक पानी परेपछी अर्थात मकै रोप्ने बेलामा कपास रोप्न सकिन्छ। ढिला रोपण गरेमा बिरुवाको पर्याप्त वानस्पतिक वृद्दि हुदैँन र हिँउदमा कम तापक्रमका कारणले डल्लाहरु राम्ररी फुट्न नसक्ने हुँदा उब्जनी घट्छ।

२)     बीउ उपचार

बीउलाई रेसारहित बनाउन आवश्यक हुन्छ। त्यसका लागि बीउलाई रातभर पानीमा भिजाउनुपर्छ। त्यसपछि रुवायुक्त सो बीउलाई गोवर, खरानी वा माटो वा बालुवा र पानीमा मिसाई तयार गरेको लेदोमा मुछि दुवै हातले रगड्नुपर्दछ र छायादार ठाँउमा सुकाउनुपर्दछ।

बीउलाई रेसारहित बनाउन मेसिनको प्रयोग तथा एसीडको प्रयोग गर्न सकिन्छ।

३)     बीउदर र रोपणविधि

उन्नत जातका अमेरिकन कपासको बीउ २०‑२५ की. ग्रा. प्रति हेक्टर र स्थानीय जातका कपासको १५‑२० कि.ग्रा. बीउ प्रति हेक्टरका दरले रोप्नुपर्दछ। हाईब्रिड जातका बीउ २ कि.ग्रा. प्रति हेक्टरका दरले लाग्दछ। पक्तीं देखि पक्तीं र बोट देखि बोटको दुरी अमेरिकन कपासका लागि ६० से.मी.x४५ से.मी. , स्थानीय कपास रोप्दा लागि ६० से.मी. x ३० से.मी. र हाईब्रिड कपास रोप्दा लागि १५० से.मी. x ६० से.मी. कार्यम गर्नुपर्दछ। कपासको बीउलाई पक्तींमा रोप्नुपर्दछ। करिब ४‑५ से.मी. गहिराईमा बीउ रोप्नु पर्दछ। कपासका पक्तींहरु पूर्व‑पश्चिम दिशामा बनाउनुपर्दछ।

खाली ठाँउ भर्ने र बेढाउने

रोपेको हप्ता दश दिनमा कपासको बीउ उम्रन्छ। तर सबै रोपेको बीउ नउम्रन सक्छ। तसर्थ दश बाह्र दिनमा खेत निरिक्षण गर्ने र नउम्रेको ठाँउमा १२ घण्टा भिजाएर राखेको बीउ रोप्ने कार्य गरी खाली ठाँउ भर्नुपर्दछ। त्यस्तै कहिले काँही बीउ रोप्दा सिफारिस गरिएको दुरी भन्दा नजिक वा चाहिए भन्दा बाक्लो गरि उम्रने हुन सक्छ, त्यस्तो अवस्थामा बीउ रोपेको १२‑१५ दिन भित्रमा कमजोर, रोगी वा राम्ररी नउम्रेका बिरुवाहरु छाँटिदिनु पर्दछ।

मलखाद

बालीचक्रमा कोशेबाली प्रयोग गरेमा रासायनिक मलखादको आवश्यकतामा कटौती हुन्छ। सामान्यतया कपास रोप्नु भन्दा एक महिना अगाडी राम्ररी कुहिएको गोठेमल वा प्राङ्गारीक मल खेत बारीमा राम्ररी जोतेर माटोमा मिलाउँदा राम्रो हुन्छ। एक हेक्टरका लागि १५ देखि २५ टन गोवर वा कम्पोष्ट मलको आवश्यक पर्दछ। नेपालका लागि सिफारिस भएको ट्याम्कट एसपी‑३७ र एफ‑१०५४ का लागि ६० कि.ग्रा. नाईट्रोजन, ४० कि.ग्रा. फस्फोरस र २० कि.ग्रा. पोटास प्रति हेक्टर रासायनिक मल आवश्यक हुन्छ।स्थानीय जातका कपासका लागि ५०:२५:१५ कि.ग्रा. नाईट्रोजनः फोस्फोरसः पोटास प्रति हेक्टर आवश्यक हुन्छ। आधा नाईट्रोजन, पुरा फस्फोरस र पूरा पोटास बाली रोप्ने समयमा हाल्ने र बाँकी नाईट्रोजन फूल लाग्ने समयमा टपड्रेसिङ गरी प्रयोग गर्नुपर्दछ।

सिँचाई

कपासको जराप्रणाली गहिराईसम्म पुगेको हुन्छ। कपासको बोट अत्याधिक चिस्यान र वायुसञ्चारको कमि प्रति धेरै संवेदनशील हुन्छ।फूल लाग्ने अवस्था र डल्ला लाग्ने अवस्थामा कपासमा चिस्यानको अत्यन्त आवश्यक पर्दछ। यस अवस्थामा माटोमा चिस्यान कायम हुन नसके डल्ला झर्ने तथा रुवा राम्रो नहुने हुन्छ। सिञ्चित क्षेत्रमा कपास रोप्नका लागि दुईवटा पूर्वरोपण सिँचाई दिएर जमिनको तयारी गरिन्छ। बीउ रोपेको ३०‑४० दिनपछि पहिलो सिँचाई गरिन्छ। त्यसपछि १५‑२० दिनको अन्तरालमा २‑३ पटक हल्का सिँचाई दिईन्छ। सिँचाईको मात्रा माटोको चिस्यान र वर्षामा पनि भर पर्दछ।

झार नियन्त्रण

कपासबालीमा बीउ रोपके ५०‑६० दिन सम्म झार पुर्ण रुपमा नियन्त्रण भएको हुनुपर्नेछ।झारनासक विषादि प्रयोग गर्नु परेमा कपास रोप्नुपूर्व जमिनको अन्तिम तयारी बेला फ्लुक्लोरालिन (बासालिन) १ कि.ग्रा. प्रति हेक्टरका दरले ८००‑१००० लि. पानीमा मिसाई छर्केर तुरुन्तै करिव ५ से.मी. गहिराई माटो सम्म हुने गरी माटोमा मिलाउनुपर्दछ।

काटँछाँटः

कपासलाई काँटछाँट गर्न सकिएमा उत्पादन अझै बढाउन सकिन्छ। समयमा उपयुक्त काँटछाँट गरेमा वानस्पतिक वृद्दिमा खपत हुने खाद्यतत्वको वितरण फलदार हाँगामा हुन्छ, जसले फूल धेरै लाग्ने र उत्पादनमा बृद्दि हुने सम्भावाना बढाउँछ। काँटछाँटका लागि निम्न कृयाकलापहरु अवलम्वन गर्न सकिन्छः

क.    वानस्पतिक हाँगाहरु हटाउनेः

कपासको फूल वानस्पतिक हाँगामा लाग्दैन। वानस्पतिक हाँगा छिटो छिटो वृद्दि हुन्छ, जसले गर्दा बोटमा वितरित खाद्यतत्व धेरै वानस्पतिक वृद्दिमा खर्च हुन्छ। यसले गर्दा फलदार हाँगा र वानस्पतिक हाँगा बीच खाद्यतत्व खपतका लागि प्रतिस्पर्धा हुन्छ। फूल धेरै लाग्नका लागि फलदार हाँगाको राम्रो बिकास र बृद्दि हुनु आवश्यक हुन्छ। तसर्थ, अनावश्यक वानस्पतिक हाँगाहरु समयमा नै हटाउनु पर्दछ। वानस्तपतिक हाँगाहरु फलदार हाँगामा पहिलो फूल खेल्न सुरु गरेपछि हटाउन सकिन्छ।  

ख.    बोटको टुप्पो काट्ने

बोटको टुप्पो काटिदिदाँ वा चुडिदिँदा वानस्पतिक वृद्दि दर कम हुने, सहायक हाँगाहरु पलाउने साथै खाद्य तत्वको उचित बाँडफाँट हुने हुदाँ बोटको टुप्पो चुड्ने अभ्यास राम्रो मानिन्छ। बोटको टुप्पो चुड्ने कार्य भने बोटमा करिब १०‑१२ फल हाँगाहरु देखिने बेलामा गर्दा राम्रो हुन्छ। त्यो समय भनेको करिब असारको अन्तिम हप्ता तिर हुनसक्छ। बोटको टुप्पो चुड्ने कार्य सफा एवं घमाईलो दिनमा गर्दा बोटमा बन्ने घाउ राम्रो गरी निको हुन मद्दत गर्दछ।

ग)     पुराना पातहरु तथा रित्ता फलदार हाँगाहरु हटाउने

बोटको बृद्दि हुने क्रममा मध्य समय तिर पुराना पातहरु, पहेँला एवं रोगयुक्त पात र हाँगाहरु तथा रित्ता फलदार हाँगाहरु बेला बेलामा निरिक्षण गर्दै हटाउनु पर्दछ। यसले गर्दा बोटमा प्रकाशको राम्रो सन्तुलन तथा रोगकीराबाट सुरक्षा र खाद्य तत्वको उचित वितरणमा सहयोग गर्दछ।

घ)     वानस्पतिक तथा फलदार हाँगाका टुप्पा हटाउने

बोटको राम्रो बृद्दि र आकारका लागि वानस्पतिक तथा फलदार हाँगाको टुप्पा हटाउन सकिन्छ। यसले जराको बृद्दिमा सहयोग पुर्‍याउनका साथै अपरिपक्क अवस्थामै बोट ओईलाउने तथा मर्ने समस्याबाट बचाउँछ। वानस्पतिक हाँगाको टुप्पो चाँहि फूल खेलेको बेला (असारको अन्तिम हप्ता) मा र फलदार हाँगाको टुप्पा चाँहि फल लागिसकेपछिको बेला (श्रावणको दोश्रो हप्ता) मा गर्न सकिन्छ।

ङ)     छिटो फूल लागेका हाँगाहरु हटाउने

राम्रो वानस्पतिक विकासका लागि समय भन्दा अगाडी फूल खेलेका हाँगाहरु हटाउनु पर्ने हुन्छ। यसका लागि छिटो फूल खेलेका बोटको तल्लो २‑३ वटा हाँगाहरु असारको पहिलो हप्ता तिर हटाउनुपर्दछ। यसरी यस किसिमका हाँगाहरु हटाउँदा भर्टिसिलियम विल्ट (‌ओईलाउने रोग) कम लाग्ने तथा बोट स्वस्थ र बलियो हुने अध्ययनले पुष्टि गरेको छ।

रोग तथा कीराहरु

कपास बालीमा लाग्ने मुख्य मुख्य रोगहरु निम्नानुसार रहेका छन्

क)    जरा कुहिने रोग

ख)    फ्युजारियम ओईलाउने रोग

ग)     भर्टिसिलिएम ओईलाउने रोग

घ)     कालो ब्रण रोग (एन्थ्राक्नोज)

ङ)     पातथोप्ले रोग

च)     जीवाणु डढुवा रोग

कपास बालीमा लाग्ने मुख्य मुख्य कीराहरु निम्नानुसार रहेका छन्

क)    कपास‑डल्लाको गुलाबी कीरा

ख)    कपास‑डल्लामा लाग्ने छिर्के कीराहरु

ग)     थ्रिप्स

रोग तथा कीराका समस्या देखा परेमा कृषि प्राविधिकको सल्लाह लिई रोकथामका लागि प्रयास गर्नुपर्दछ।

कपास टिपाई

कपासका फूलहरु एकै समय नफक्रने हुदाँ फल एकै चोटि टिप्न सकिदैँन। टिप्नका लागि परिपक्क भएका डल्लाहरु छान्दै ३ देखि ४ पटकमा कपासको टिपाई गर्नुपर्दछ। कपासको डल्ला पूर्ण रुपले फुटेर कपास तलतिर झुन्डिन थालेपछि कपास टिप्न तयार भएको बोध हुन्छ। डल्ला फुटेपछि कपासलाई धेरै दिनसम्म खेतमा छाड्दा मौसम आदिको कारणले कपास बिग्रन सक्छ। यस कारण खेतबारीमा ४०‑५० प्रतिशत फलहरु फुटेपछि पहिलो टिपाई थाल्नुपर्दछ। अमेरिकन कपासमा १०‑१५ दिनका अन्तरालमा र देशी कपासमा ५‑८ दिनको अन्तरालमा टिपाईहरु गर्नुपर्दछ। सामान्यतया उन्नत जातका अमेरिकन कपास कात्तिकको सुरुमा पहिलो टिपाईका लागि तयार हुन्छन्, दोश्रो टिपाई कात्तिक तेश्रो हप्तामा , तेश्रो टिपाई मङ्सिरको पहिलो हप्तामा र चौथो/अन्तिम टिपाई मङ्सिरको तेश्रो हप्तामा गरिन्छ। कपास टिप्ने कार्य विहान वा बेलुका गर्न हुँदैन। शीत परेको र आर्द्र मौसम भएको समय कपास टिप्न हुँदैन। सफा र शुष्क कपास टिप्नु पर्दछ। कपास टिप्ने कार्य मेशिनको सहायताले पनि गर्न सकिन्छ।

उब्जनी

सिञ्चित क्षेत्रमा राम्ररी व्यवस्थापन गरिएको अमेरिकन कपास बालीले १५‑२० क्वि. प्रति हेक्टर कपास उब्जनी दिन्छ। स्थानीय जातको कपास बालीबाट १०‑१२ क्वि. प्रति हेक्टर र हाईब्रिड जातका कापास बालीबाट २५‑३० क्वि. प्रति हेक्टर कपास उब्जनी हुन्छ। कपासमा ३४‑३६ प्रतिशत भाग रुवा र बाँकी भाग बीउको हुन्छ।

सन्दर्भ सामाग्रीः

साउँद, नरबहादुर, नेपालका बालीनाली र तिनको दिगो खेती, साझा प्रकाशन, ललितपुर, २०६६

Cates, H. R. (1917). Farm practice in the cultivation of cotton (No. 511). US Department of Agriculture.

Dai, J., & Dong, H. (2014). Intensive cotton farming technologies in China: Achievements, challenges and countermeasures. Field Crops Research, 155, 99-110.